विद्यालय शिक्षामा बृहत् यौनिकता शिक्षा सहितको स्वास्थ्य शिक्षा अनिवार्य रूपमा समावेश गर्न आग्रह
वि.सं. २०७२ सालदेखि नेपालको विद्यालय शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले नेपाल सरकारले विभिन्न रणनीतिहरू कार्यान्वयन गर्दै आएको छ। जीवनको शुरुवाती चरणमै नागरिकमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नका लागि प्रदान गरिने शिक्षाले व्यवहारिक र समग्रताको आधारमा आधारित हुन आवश्यक छ।
नेपाल सरकारको यस प्रयासलाई थप सशक्त बनाउँदै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA), स्वास्थ्य मन्त्रालय, यस क्षेत्रका विज्ञहरू, सरोकारवाला निकायहरूको सक्रिय संलग्नतामा विद्यालय तहमा के कस्ता विषयहरू समावेश गर्दा उपयुक्त हुन्छ भन्ने सुझावहरू सहितको प्रतिवेदन शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रमा बुझाइएका छौं ।
यसै सन्दर्भमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको सामूहिक अनुरोध पत्रमार्फत विद्यालय तहमा बृहत यौनिकता शिक्षा समावेश गरिएको स्वास्थ्य शिक्षा विषयलाई अनिवार्य रूपमा लागू गर्न माग गरिएको छ।
विद्यालयमा बृहत यौनिकता शिक्षा सहितको स्वास्थ्य शिक्षाको समावेशले:
-
उत्पादनशील र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्छ ।
-
विद्यालय शिक्षामा विद्यार्थीहरूको निरन्तरता बढ्छ ।
-
असुरक्षित तथा जोखिमपूर्ण व्यवहारबाट हुने स्वास्थ्य समस्यामा कमी ल्याई जिम्मेवारिपूर्ण निर्णय लिन सक्ने नागरिक तयार गर्छ ।
-
सानो उमेरमा हुने विवाह र यौन सम्बन्ध, असुरक्षित गर्भपतन आदिमा व्यापक कमी आई मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आउँछ ।
-
पहिलो यौन सम्पर्कको उमेर बढ्नुका साथै यौनजन्य हिंसा, बलात्कार, लैंगिक हिंसा तथा असमानता जस्ता अपराधहरू घट्छन ।
-
असुरक्षित यौन सम्पर्कका कारण हुने अनिच्छित गर्भ, एचआईभी तथा यौनजन्य संक्रमण साथै पाठेघरको मुखको क्यान्सर न्यूनीकरण हुन्छ ।
-
विद्यालयमा संचालित निशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई सफल बनाउन टेवा पुर्याउँछ ।
-
लैंगिक मैत्री विद्यालय शिक्षाको वातावरण निर्माणमा योगदान दिन्छ ।
-
सिमान्तकृत समुदायहरु जस्तै लैंगिक तथा यौनिक अल्पसंख्यक र अपांगता भएका व्यक्तिहरु बिरुद्ध हुने लाञ्छना तथा भेदभाब न्यूनीकरण हुन्छ।
यस विषयको समावेशले केवल शैक्षिक क्षेत्रमै नभई, परिवार, समाज र राष्ट्रस्तरमै लैंगिक समानता, सामाजिक समावेशिता र मानव अधिकारको संरक्षण र प्रवर्धनमा रुपान्तरणकारी सुधार ल्याउनेछ। साथै, नेपाल सरकारद्वारा घोषित दिगो विकास लक्ष्य २०३० का प्रतिवद्धताहरू प्राप्त गर्न सहयोग पुर्याउने यो एउटा महत्वपूर्ण कदम हुनेछ भन्ने तथ्यांकहरूले पनि पुष्टि गरिसकेका छन्।
विद्यालय तहमा बृहत यौनिकता शिक्षा सहितको स्वास्थ्य शिक्षालाई अनिवार्य रूपमा समावेश गर्न हामी यस पत्र मार्फत शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायलाई विलम्ब नगरी आवश्यक निर्णय र कार्यान्वयनको लागि आग्रह गर्दछौं।
<<Memorandum>>